Bhupal Sapkota Software Consultant Helping founders build
and launch their ideas with code & AI

Bhupal's Newsletter

I send out occassional email with programming resources, summaries of my readings on art, science, and commerce behind technology, my writings on growing an online business etc. Feel free to subscribe, no spam!

Home

नेपाली नलेख्ने नेपालीहरु

संदेश दाजु काठमाडौंको पपुलर स्कूलमा नेपाली पढाउनु हुन्छ l एकपल्ट दाजुले फेसबुक स्टाटस लेखी पोस्ट बटन दाबेर आफ्नो पोस्ट देखिएला भन्दै न्युज फिड हेरिरा बेला माथीबाट लुत्रुक्क एन.एस.ए सर्भिलेन्स सम्बन्धि पोस्ट झरेछ l संदेश दाजुको कम्पारो तात्यो l आफ्ना साथीले हेरुन भनेर लेखेको पोस्ट फेसबूक मार्फत घुमी फिरी कहाँ कहाँ पुग्दो रहेछ अनी त्यसमा अनेक थरिका मेसिनरी प्रोसेसिंग भएर स्टाटस लेख्नेको बारेमा बकाइदा अमेरिकी सरकारी निकाएबाट जासूसी मोनिटरिङ भैरहेको हुदों रैछ l आफ्नो सूचना र गोपनियताको हक खै ? संदेश दाजुले मलाई कल गर्नुभो – “के हो  बाबु यस्तो ? ”

संदेश दाजु पि.सी.एल. गरेका मान्छे l आफू अंग्रेजीमा अली कमजोर भएको स्विकार्ने मान्छे l अंग्रेजी फाट्ट फुट्ट लेख्ने अनी साधारण अंग्रेजी बुझ्नेका लागि भनेर लेखिएका समाचारहरु कनीकुथी अर्थ लाउन जान्ने l टुटे फुटेको अंग्रेजीमा पोस्ट लेख्दा अनी आफूले लेखेको अंग्रेजी मिठासको प्रसंसा गर्ने फेसबुकका लाइकेहरु देखेर दाजुलाई मजा लाग्दो हो l एक लाइकमा एक मजा हुन्छ अरे l

“अनलाईनमा लेख्ने सबै कुरा नेपालीमा लेख्नु संदेश दाजु – नेपाली भाषा बुझेर अर्थ लाउने जान्ने मेसिनहरु संसारमा अहिले सम्म बनेका छैनन्”, मैले सारा नेपाली प्राबिधिक क्षेत्रको ज्ञाताले जसरि कन्फिडेन्स साथ भने l “ए हो त है !” संदेश दाजुले फोन राखे l उनि मेरा गफ चाडै बुज्छन्, खै कसरी हो ? कुनै बेला प्रविधि बिकाश नहुनुले थोरै भएनी डिजिटल सुचना सम्बन्धि आफ्नो गोपनीयताको हक संरक्षण गर्न सक्छ भन्ने अस्थाई निचोड थियो यो हाम्रो कफी गफको l

दाजुले त्यो दिन देखी आजसम्म आफ्नो फेसबुकमा अंग्रेजीमा पोस्ट लेखेको मैले देखेको छैन l संदेश दाजुलाई आफ्नो लेखाई माथिको सर्भिलेन्स मन नपर्नुको अनेक कारण होलान, तर म आफ्नो सुझाब त्यो हदसम्म लागू भएको देखेर दुई चार दिन निदाईन l छटपटी यो थिएन कि मैले गलत बोले – बरु यो थियोकी मैले आफूले अनलाईनमा त्यो रुपमा नेपाली भाषामा लेख्ने प्रतिबद्दता कहिलै गर्न सकेको थिएन l नेपाली नबुझ्ने साथीभाइसंग अंग्रेजीमा संचार्नु आफ्नो ठाउँमा छ तर जानी नजानी आफूले नेपाली भाषाको अपहेलना गरेको अनुभव भयो ! नेपाली अक्षरहरुमा लेख्नुलाई नेपाली लेख्नु मान्छु म, व्याकरणको सुद्द्ता हाम्रा मास्टरले राम्रो संग सिकाए जस्तो मान्दिन l

म नेपाली भाषा रुचाउने मान्छे l फाट्टफुट्ट आफ्नो भाषामा आफूले छानेका शब्दहरु कोरेर स्पस्ट संग आफ्नो मन मस्तिस्कमा लागेका कुरा बाढ्नुको मजा भोगेको मान्छे l पाँच छ बर्ष अघि नेपाली युनिकोड प्रचलनमा नहुदाँ इन्टरनेटमा बलियो नेपालीपन झल्काउनेगरी आफ्ना वेबसाइट तथा ब्लगको उपस्थिति दर्साउनु सम्भव थिएन l तर अहिले इन्टरनेटमा, कम्प्युटर सफ्टवेयरमा जता ततै नेपाली युनिकोडमा लेख्ने प्रविधिहरु बिकाश भएका छन् l नेपाली संस्था मदन पुरस्कार पुस्तकालय तथा गूगल, माइक्रोसफ्ट जस्ता कम्पनीले नेपाली भाषाको प्रबिधिकरणमा काम गरेका छन् l मदन पुरस्कार तथा गूगलले आ-आफ्नै नेपाली इनपुट मेथड निकालेको छ l माइक्रोसफ्टले बिंग नेपाली अनुबादक निकालेको छ, अनुबाद हास्यास्पद भएपनी प्रयास राम्रो मान्नु पर्छ l सबै आधुनिक इन्टरनेट ब्राउजर हरुले नेपाली भाषामा लेखेका कुरा बिना हिचकिच देखाउन सक्छन l यो बिकाश आफ्नै आँखा अघि हिजो, आज गर्दै हुँदा पनी मैले अनलाईनमा नेपालीमा लेख्ने स्पस्ट प्रेरणा भेटिन l तर आज दुई पल्ट यो बिसयमा सोचेर बस्ने हिम्मत जुटेको छ, प्रेरणा मिलेको छ l

हाम्रा बा-आमाले नेपाली भाषामा लेखेको स्पस्ट पढ्न, बुझ्न र बुझाउन सक्नु हुन्छ l तर म बारम्बार आफ्नो मोबाइल, ल्यापटप वा पि.सी. अघि बसेर फटर-फटर अंग्रेजी हेरेको र लेखेको वहाँहरुलाई जमेन l बुझ्न सिक्न चासो नदेखाउनु भएको हैन – बुबाले अंग्रेजी लेखेको लहै-लहै बुझ्नु हुन्छ तर हामीले चलाउने कुनै पनी इलेक्ट्रोनिक डिभाइस नेपालीले चलाउन भनेर बनाइएका छैनन् l नत हामीले चलाउने कुनै सफ्टवेयरको झलक नेपालीमा देखिन्छ l यो भाषाको कुरो हामी दुई चार जनालाई समस्या नहोला l कतिनै छौं र हामी जो इन्टरनेटमा अंग्रेजी बुज्छौ – नेपाली जनसंख्याको दश प्रतीशत ? पन्ध्र प्रतीशत ? आमा सिधा-सिधा भन्नु हुन्छ – यो गाई खाने भाषाले गर्नु गर्यो ! नौ-दश बर्ष अघि सम्म मैले बुझ्दिनथें त्यो के भनेको हो भनेर l आजकल स्पस्ट सुनिन्छ l

त्यसो हो भने हामीले गर्ने के त ? सबैलाई अंग्रेजी सिकाउने ? की सबै डिजिटल सुचना नेपालीकरण गर्ने ? ल जे गरम्ला तर त्यो कसले गर्दिने हो ?

समस्या हाम्रो हो l समाधानको जिम्मेबारी हामीले लिन सक्नुपर्छ l हामी सफ्टवेयर बनाउनेहरुलाई नेपालीको लागि सफ्टवेयर बनाउन आउदैन l हामी बिदेशीका निम्ति सफ्टवेयर बनाउदा र कोड लेख्दा यति पोख्त भईसकेउँ नेपालीको लागि सफ्टवेयर बनाउनु हाम्रो प्राथमिकतामा पर्दैन l हामी ग्लोबलाइजेसनका कुरा फ्याक्छौं कफी खाँदै, तर आफ्नो भाषा र संस्कार मेटिएको हामीलाई चासो लाग्दैन l हामी कस्ता भने – कुरो बिग्रेपछि ए हो त बिग्रेछ भन्न पोख्त l बेद पुराण लाई कक्षा एक देखी दश सम्मको पाठ्यक्रममा सम-सामयिक तरिकाले परिमार्जन गर्दै पढाएको भए पहिलो एरोप्लेन बनाउने नेपाली हुन्थ्यो होला l हामीले अहिले चचच गर्छौं, सबैले पुराण बिर्सेपछि, अनी पुजा पाठ गर्दा गुरु नभेटे पछी l ग्रन्थ हराउँदा मौलिकता यसरि हराउछ l भाषा बिर्सिदा संस्कार यसरीनै लोप हुनेछ l

करिब डेढ बर्ष अघि गूगलको आधिकारिक नेपाल भ्रमणमा गूगलले नेपाली भाषामा चासो राखेको र आन्तरिक रुपमा नेपाली भाषामा काम भईरहेको कुरा गूगलका कर्मचारीले नेपाली प्रविधि क्षत्रसंग बाँडेर गए l हाम्रो भाषामा मल्टीनेसनल कम्पनीले चासो राख्नु हाम्रो लागि गर्बको कुरो थियो l हामी आशे भएम – आश गरेर बसेम l

गूगलले नेपाली भाषालाई सजिलै अंग्रेजीमा र अंग्रेजी भाषालाई नेपालीमा अनुबाद गर्न सक्ने मेसिन ट्रान्सलेटर बनाउन खोजेको थियो l त्यो बन्यो भने नेपाली – अंग्रेजी भाषाको अनुबादलाई आधार बनाएर बिश्वका पैसट्ठी भाषामा लेखेका कुरालाई हामीले एक क्लिक को भरमा नेपालीमा पढ्न सक्छौ l नेपालीमा लेखेका लेखलाई हामीले ती बिश्वका भाषामा सहज रुपमा उल्था गर्न सक्छौ l गूगलले सकेन l कसरी सकोस जब नेपाली र अंग्रेजीमा एउटै अर्थ लाग्ने लेखहरु हामी संग छदै छैनन् l पल्पसा क्याफे जसरि सबै पुस्तक नेपाली र अंग्रेजीमा निस्कने भए ? भाषा अनुबाद गर्न सक्ने मेसिन बनेका छन्, बनेर के गर्नु ? चामल र भुस निकाल्न धान चाहियो नी ? हामी नेपाली प्रविधिमा लाग्नेले नत धान फलाएम न त प्रसस्त नेपाली शब्दहरु नै सिर्जना गर्न सकेम l जसले नेपालीमात्र बुज्छन् र लेख्न रुचाउँछन् उनीहरु प्रविधिको पहुँचमा पुग्दा धेरै ढिलो भइसक्नेछ l यो अवस्थामा गूगलले अनुबादक बनायो भने पनी माइक्रोसफ्ट बिंग को अनुबादक जस्तो जोकको बिषय बन्ने छ l गूगलमा काम गर्ने संसारका सर्वोत्कृष्ट इन्जिनियरहरुले  बनाएको नेपाली इनपुट मेथड प्रयोग गरेर लेखेको लेखहरुलाई उनीहरुलै बनाएको अर्को भाषा डिटेक्टर सफ्टवेयरले हिन्दी लेख भनेर ठोकुवा गर्छ त्यस्तै – अनुबाद पनी हिन्दी टोनमा निकाल्न के बेर ? हामीले हेलचेक्र्याइँ गरेकोले हाम्रो भाषा र हाम्रा कखराको आज मजाक बनेको छ l

हामी सफ्टवेयरको झलकलाई म्यानुअल तरिकाले नेपालीमा अनुबाद गर्न लागिपर्छौ l अनी यस्तो अनुबाद गर्छौं त्यो न त सिकारुले सिकेर प्रोफेसनल बन्न सक्ला न त हामी जो अली अली कम्प्युटर जानेका छौं हामीहरुले नै चलाउन सकौंला l भाषा प्रबिधिकरण गर्न हामीसँग शब्द अभाब छ l शब्द अभाब कसरी नहोस जब कम्प्युटरमा लेख्न जान्ने सबैले अंग्रेजीमा लेख्छन ?

माइक्रोसफ्टले आफ्नो पपुलर अपरेटिंग सिस्टम नेपाली भाषामा उल्था गर्ने प्रयत्न गर्यो l मेनु लाई पर्दा भनेर लेखेको सफ्टवेयर मैले चलाउन सकिन l इन्टर लाई घुसाउनुहोस् लेख्नेहरु एक पल्ट त पक्का हाँसे होलान l

नेपालमै लिनक्स ओपन सोर्स अपरेटिंग सिस्टमको नेपाली अनुबाद नेपालीनक्स बन्यो l त्यो किन बन्यो र अहिले कहाँ छ बनाउनेलाई चाहिँ थाहा होला l काठमाडौं बिश्वबिध्यालयमा दोभासे नाम गरेको नेपाली अंग्रेजी अनुबादक सफ्टवेयरमा गहन रिसर्च र अध्ययन भयो – त्यो पनी शब्द अभाबले अघि बढ्न सकिरहेको छैन l

नेपाली शब्द कहाँ छन् त ? यी यहिँ छन्, फेसबुक चलाउने बिसलाख नेपालीमाझ l तर ति नेपालीका सोचहरु अनी बिचारहरु नेपाली शब्दका रुपमा झरेनन l नेपालीको हातहरु कीबोर्डमा चल्दा अंग्रेजी अक्षर झर्छन् l अनी त्यहाँबाट सुरु हुन्छ सम्पूर्ण नेपाली भाषा सम्बन्धि प्राबिधिक कठिनाईहरु l

बिसलाख नेपालीले हरेक दिन बिसलाख ओटा वाक्य नेपाली भाषामा लेखे भने एक वर्षमा कति शब्द जम्मा होलान ? अनी कति नयाँ सजिला शब्द जन्मेलान l भाषा मेटिनु भन्दा आगन्तुक शब्दहरु थपिउन बरु l

जुकर्बरले नबुझ्ने भाषा उसको अफिसको फेसबुक वोर्ल्ड मनिटरिङ सफ्टवेयरमा बट्टा बट्टा त नदेखाउला नी? ल्यारी पेज ले विकासशील मुलुक हरुको त्रैमासिक प्रविधि ग्रोथको ट्रेन्ड हेर्दा हुन् l नेपाली अक्षरहरु उनको दृश्यमा पर्ने कहिले ? इभान विलियमले नेपाली बोल्ने मान्छे छन् र भन्दा हुन् l कसरी भनुन – हामी इन्टरनेट चलाउने नेपालीहरुले नेपाली भाषा बिर्सेपछी l

अनुवादको नाममा एउटा साधारण नेपालीले सपनामा नी नसोच्ने शब्द बनाएर भासिक रुपमा अप्ठ्यारा नेपाली अनुवादित सफ्टवेयर निकाल्नुको आफ्नै मत होला तर त्यो तरिकाले काम गरेन भन्ने कुरा हामीले भोगेको अवस्था हो l त्यो दोहोरिनु आफ्नै खुट्टामा बन्चरो हान्नु हो l समय पछिल्तिर चल्छ र ? नेपाल प्रविधिमा छिट्टै फड्को मार्दै छ – सुरुबाट सुरु गर्ने अवस्था अब रहेन l

नेपाली भाषाको प्राबिधिक बिकाशमा बिर्को लागेको छ l नेपाली इन्जिनियरिङ पढ्ने बिध्यार्थीले आफ्नो लागि प्रोजेक्ट भेट्दैनन, नेपालमा खोजे पो भेटिन्थ्यो, हेरे पो देखिन्थ्यो l नेपाली सफ्टवेयर कम्पनी र नेपाली सफ्टवेयर डेभलपर्सहरुले नेपाली भाषामा सफ्टवेयर बनाउने कहिले ? नेपाली भाषा सम्बन्धि प्रबिधिमा गर्न सक्ने काम धेर-थोर भइरहेको छ तर भएको देखिएन l

यो शब्द अभाब हामीले सिर्जना गरेको हो l यसको पूर्ति हामीले गर्नुपर्छ l भाषाको सम्बन्ध संस्कार र राष्ट्रिय एकता संग जोडिएको हुन्छ l बिगत पन्ध्र वर्ष कम्प्युटर साइन्स पढेर मैले नेपाली भाषामा लेख्न बिर्सें l म कुत्तुवा गरेर भन्न सक्छु म संगै पढाई सुरु गर्ने सत्तरी प्रतीशत नेपालीहरुले इन्टरनेटमा नेपाली भाषामा लेख्न रुचाउदैनन l जान्दैनन भन्न खोजेको हैन l

सुन्छु, बैज्ञानिक थेसिस अंग्रेजीमा लेख्नु पर्छ l कम्प्युटर चलाउन सिकाउने कुरा अंग्रेजीमा लेख्नु पर्छ l बिदेशीले लेखेको पढेर सिकेर त्यहि कुरो अंग्रेजीमै कपि पेस्ट गर्दा कहाँको मान्छेले गन्ला र ? कमसेकम आफूले पढेर बुझेको कुरो एक दुई हजार नेपाली शब्दमा लेख्दा – अंग्रेजी भाषा अप्ठेरो मान्ने नेपालीहरुलाई त काम लाग्ला !

फेसबूक को स्टाटस अंग्रेजीमा लेख्नु पर्छ अरे l ट्वीट अंग्रेजीमा नलेखे ट्वीटेको के मजा l यी ढोंग हुन् l आफ्नो भाषालाई जानी जानी रेट्ने यसरि हो l लेखाई भाषामा हुदैन l लेखमा हुन्छ l राम्रो लेख संसारमा हरेक भाषामा अनुवादित हुन्छ l म आफूलाई नेपाली भन्छु भने मैले आफूले कम्प्युटरको किबोर्ड थिचेर नेपाली युनिकोडमा अक्षर झर्दा गर्व गर्न सक्नु पर्छ l जसरि हामीलाई नेपाली भाषामा बोल्न हिचकिच छैन त्यसरी लेख्न पनी हिचकिच हुनु हुन्न l बोलेको कुरो हावामा उड्छ भन्छन – यसरि नेपाली भाषामा लेख्न छाड्ने हो भने – हाम्रो भाषिक अस्तित्व मेटिने छ l हामी नेपाली बोल्ने अंग्रेज हुनेछौं l

संदेश दाजुले जस्तो अटोठ गर्न नसके पनी मैले कोशिश गर्नेछु, अबका हरेक दिनहरु जब म लेख्न बस्छु कम्प्युटरमा मैले नेपाली अक्षरहरुमा लेख्ने छु l प्राबिधिक रुपमा र शत प्रतीशत भाषिक सुद्दतामा कन्ट्रीब्युसन गर्न नसके पनी – एउटा लेख्न रुचाउने नेपालीको हैसियतले मैले आफूले सके जति नेपाली शब्द इन्टरनेटमा छर्ने छु l एन. एस. ए. ले नेपाली नबुझुन्जेल – अर्को तिरको मन्द मन शान्ति छँदैछ l

माइसंसारमा मन परे हरियो मन नपरे रातो भनेको जस्तो यो लेख मन परे फेसबूक, ट्विटर, गूगल प्लस आदिमा सेयर गरिदिनु होला /

(यो पोस्टको ड्राफ्ट हेरिदिने साथी भुवन पोखरेलमा आभार)

Sept 6th, 2013

Category: Semicolon Valley
Tagged with:

Copy & Share

नेपाली नलेख्ने नेपालीहरु
https://bhupalsapkota.com/nepali/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *