मशाल र आँधी 🌩️
पहाडले घेरेको विशाल उपत्यकामा सपनाले भरिएका युवा पुस्ता बस्थे। उनीहरूको मुटु ढोलझैँ धड्किन्थ्यो, स्वर भविष्यको नयाँ प्रभातको वाचा गर्थ्यो।
एक साँझ, चेतावनी बिना आँधी आयो। आकाश कालो भयो, नदीहरू किनार च्यातेर बग्न थाले, जमिन आफैं काँप्न थाल्यो। पुराना पुलहरू भत्किए, बाटाहरू हिलोले डुबे।
युवाहरू चौतारामा जम्मा भए। बिजुली चट्याङसँगै उनीहरू चिच्याए:
“हामी पुनःनिर्माण गर्छौं!”
“हामी आफैं अगाडि बढ्छौं!”
“हामीलाई कसैको बाटो चाहिँदैन!”
उनीहरूको शब्द ज्वालाझैँ दन्कियो, तर छिट्टै धुवाँमा परिणत भयो। कसैले ढुङ्गाका गढी बनाउँ भन्ने, कसैले खेत जोत्नुपर्ने, कसैले क्षितिजतिर डुङ्गा दौडाउनुपर्ने भन्दै हरेक दिशातिर तानातान सुरु भयो। जोश चट्टानी किनारमा ठोक्किने छालाझैँ आपसमा टकरायो।
आँधी कराउँदै गइरहेको थियो, उनीहरू थाक्दै गइरहेका थिए।
त्यसैबीच, भीडतिर एक वृद्धा देखा परिन्। उनको ढाड वाकिएको थियो, कपाल चन्द्रमाजस्तै सेतो, हातमा पुरानो लौरो, र अर्काे हातमा सानो मशाल—जुन आँधीमा पनि निभेको थिएन।
उनले न आदेश दिइन्, न गाली। शान्त स्वरमा मात्र भनिन्:
“तिमीहरू भविष्य हौ, तर आँधी तिम्रो सपनाभन्दा पुरानो हो। दौडिनुअघि कहिलेकाहीँ बाटो देख्न जरुरी हुन्छ। म तिमीहरूलाई बाँध्न होइन, जमिन कहाँ मजबुत छ, कहाँ बाटो सुरक्षित छ, त्यत्तिकै देखाउन आएको हुँ।”
कतिपय युवाले हाँसे, “हामीलाई उनको उज्यालो चाहिँदैन!”
तर थाकेका र हराएका अरूले उनको पछ्याए।
वृद्धाले के बनाउने भनेर नभनिन्। तर उनले देखाइन्—कहाँ जमिन बलियो छ, कहाँ नदी पार गर्न सकिन्छ, कहाँ हावाले आश्रय दिन्छ। त्यसरी युवाहरू फेरि एकतामा फर्किए। ढुङ्गा-ढुङ्गा जोडेर पुल बनाए, बीउ-बीउ छरेर खेत रोपे। चिप्लिएका चिङ्गारीहरू मिलेर एउटै अग्नि भए।
आँधी थामिएपछि वृद्धाले मशाल उनीहरूकै हातमा राखिन्। उनको नजर बिहानझैँ चम्किन्थ्यो।
“यो उज्यालो कहिल्यै मेरो मात्र थिएन,” उनले भनिन्,
“मैले त केवल बाटो देखुन्जेलसम्म बोकेको हुँ, बोकेर अघि बढ्नु तिमीहरूको हो।।”
त्यसपछि वृद्धा हराइन्, बाँकी रह्यो त मशाल र उनीहरूको सम्झना। सपना मात्रै हुँदा चिङ्गारी हावामा हराउँछ; तर संरक्षकत्व हुँदा त्यही चिङ्गारी आँधी पार गर्ने दाउमा रुपान्तरण हुन्छ। जोशले भविष्य बल्छ, तर बुद्धिले बाटो देखाउँछ। अघिल्ला पुस्ताको मार्गदर्शनमा विश्वास गर्नु कमजोरी होइन – यो त सपनालाई नियतिको पुलमा पुर्याउने आधार हो।
मशाल र आँधी
https://bhupalsapkota.com/mashal/