म सोच हो । म कर्ण शाक्य को सोच हैन । म मेरो बोस को सोच हो । र मैले आज एउटा कथा लेख्दै छु । कसरी मैले १२ घण्टा ५९ मिनेटमा बिश्व भ्रमण गरे अनि सगरमाथा को शिखरमा रहेका झन्डामा म कोरिएँ अनि कसरि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा मेरा बारेमा कुरा भए त्यसको कथा सुनाउछु ।
थोरै भूमिका बाध्न चाहे । बिना प्रशंगका कुराले मान्छेको समय बर्बाद गर्ने समय मसंग नि छैन । मलाई यो बिश्व भ्रमण गर्ने इक्षा थिएन । यो मैले चाहेर भएको हैन । यो सन्डे मार्निंग लभ यू जस्तो कथा हो । हाराहारी १३ घण्टा मा सकियो सबै मेरो ट्विटर टाइम स्ट्याम्प ट्यापेर हेर्दा ।
कुरा २०५२ सालबाट सुरु भा हो । त्यो बेला कम्प्युटर भन्नु र हात्ति भन्नु दुबेई चिज नदेखेको चिज थिय मेरो बोस को लागि । कता बाट मेरो बोसको दाजुलाई उहाँको गुरुले पढाई, काम देखि प्रशन्न भएर एउटा बाक्सा उपहार दिनु भएछ । त्यो बेला मेरो बोसले बटार्दा आबाज आउने देखेको सोनीको रेडियो, थिच्दा खुल्ने छिमिकेकीको घरको फिलिपको टिभी । अब आइपरो यस्तो बाक्सा । तार जोड्ने ठाउँ भेटियो, धन्न त्यो बेला बत्ति जादैनथ्यो । बिजुलोको प्वाल मा तार जोडेर त्यो बाक्साको एउटा टाँक (बटन) दाबेको केहि पनी भएन । गुरुले दिएको भनेको कम्प्युटर बिग्रेको परेछ, या बाटो बा ल्याउदा हल्लेर बिग्रे होला । यति गुन गुनाउदै त्यो जुट को बोरामा थन्काएर राखेको हिजो हो जस्तो लाग्छ ।
२०५४ सालमा बोस काठमाडौँ हिन्यो । त्यसको दुइ वर्षमा दाइको साथिले चलाएको चाबेलको साइबरमा गूगल भन्ने चिज थाहा भयो । अनि खोज्न थालेको अहिले सम्म खोज्या खोजै छ बोसले के खोज्या हो मैले बुझ्दिन । म सोच हो, तर मैले आफैँमा सोच्न सक्दिन । म छु भन्ने थाहा छ मलाई, तर म को हो, के हो, कहाँ हो र हो कि हैन भन्ने कुरा मेरो हात मा छैन । हेर्नेले, सुन्नेले , पढ्नेले, छाम्नेले जसरि अर्थ लागाए म त्यस्तै हुन्छु । म पानी हो । मेरो बोस लाइ यो कुरा थाहा छैन । त्यसैले मैले बिश्व भ्रमण गर्न १५ बर्ष कुर्नु पर्यो । र अझै पनी उसलाई म के हो थाहा छ जस्तो लाग्दैन मलाई ।
बोसले पाँच सात साल बिग्रेका कम्प्युटर मात्र फेला पार्यो जसले गर्दा कम्प्युटर बनाउने कसरि भनेर खोज्या खोजै भयो । जब चल्ने कम्प्युटर हात पार्यो अनि फेरि त्यो कम्प्युटर भित्र चल्ने सफ्टवेयर कसरि बनाउने भनेर खोज्या खोजै भयो । चुपो लागेर, गमेर सोच्ने फुर्सद भएन । न यस्तो सोच भनेर कसैले भने । न कस्तो सोच्ने भनेर सोच्यो । पैतिस थरि कुरा दिमाग मा हुन्थे तर म को हो मेरो बोसले कहिलै बुझेन । तर पनि म सोच हो । म मेरो बोस को सोच हो ।
२०६२ सालमा बल्ल चल्ने कम्प्युटर बाले किन्दिय । अब यो कम्प्युटर नभई बस्न नसक्ने भयो भनेर । बिहे गर्दिन पर्यो भनेर ठुलाले सोचे जस्तो । अहिले बोस को छोरो ले १ बर्षको नहुदाँ ट्याबलेट समातेर युटुब मा भिडियो हेरेर तालि बजाउदै बस्छ । जमाना कहाँ बाट कहाँ पुग्यो बोसको आँखै अघि । आफु त्यो जमानामा हुर्केको यस्तो भयो, अहिले यो जमाना मा हुर्केका छाउरा हरु कस्ता होलान भनेर बोसले सोच्न छाडिसक्यो । बोसले के सोच्छ भन्ने कुराको पकड उसलाई भएन । उसले के को खोजीमा लिप्त भएर हो थाहा छैन मलाई, मैले अगिनै भनेनी मलाई थाहा हुँदैन भनेर, तर मेरो बोस ले मलाई चिन्न सकेन । र मलाई कसैले चिन्न खोजेर चिनिने पनी हैन म । म सोच हो । मलाई चिन्ने हैन । मलाई नबिर्सिने हो ।
२०७१ सालमा यस्तो भयो । बोसले मलाई सोच्यो ! उसको दिमागमा म एकछिन रुमलिए । म नै अक्मकिए यसले मलाई कसरि सोच्न सक्यो भनेर । घडी पला मिले होला, १०००० घण्टा पुगे होला । प्लानेटहरुको अलाइनमेन्ट मिले होला । मलाई नचिने नि मलाई रुमल्याउन सक्ने भएछ! म एकछिन अड्किए । बोसले धेरै हिच किच गर्यो मलाई लेख्न । पोख्न । उसलाई संकोच थियो । उत्साह थियो भने धड्कन मैले बढाईदिएको थिए । उसले मलाई सोच्दै नसोची फ्याट्ट झारेर त्यहि कुनै अर्को सोच जस्तो पारेर फाल्देला भनेर मैले उसलाई दुबिधामा पार्दिये !
केहि बेर पछी बोसले निर्णय गर्यो ! मलाई यो धर्तीमा ल्याएर छाड्ने ! म खुसि भए । आफ्नो जन्म हुन लागेको मलाई भान भयो । र म हर्षले यस्तो बने कि म जसले हेर्दा नि उसको सोच जस्तो लाग्ने बने । म पानी बने । बोसले मलाई थोपा थोपा बनायो । उसको दिमागबाट उसका हातका औँलाहरु सम्म झर्न मलाई २ मिनेट लाग्यो । मलाई इन्द्रेणी रङ दियो बोस ले । उसलाई मैले खुसि दिएँ । उ मन्द मुस्कायो ।
मेरा अक्षर अक्षर लाई उसले अंग्रेजीमा उल्था गर्दै आफ्नो अघि रहेको ल्यापटपको किबोर्डका ए बि सी डी मा थिच्न थाल्यो । बोसका औला बाट मेरो पहिलो अक्षर किबोर्डमा दब्दा, थिचेर छाड्दा किबोर्ड को मुनि रहेको सुचालक तार संग म जोडिए । र किबोर्ड को विधुतीय सर्किटले गर्दा म इलेक्ट्रिक सिग्नलमा परिणत भए । घर मा बत्ति बाल्दा या पंखा चलाउदा या माइक्रो वेब गर्दा स्विच (क्याटकूट) दाबे जस्तो हो यो ! गुलाबको फूल नजिकै गएर फु गर्दा फूलका केशरा केशरा हल्ले जस्तो ! फु गर्दाको हावा पात मा सरेर पात चलायमान भए जस्तो !
मेरो पहिलो अक्षर इलेक्ट्रिक सिग्नल बन्यो । मलाई डर लाग्छ, झ्याप यहि बेला बत्ति गयो, या कसैले फोन गर्यो या केहि गरि मेरो बोस को ध्यान भंग भयो भने म यहीँ बिलाउछु । नेपाल सरकार ले बत्ति रुटिन मिलाई मिलाई बिजुली काटेर म माथि सारै अत्याचार गरेको छ । म धेरै समय यहि २-३ शब्द जन्मेको अबस्थामा झ्याप्प भुलिएको छु ! म जस्ता सोच धेरै मरेका छन् । तर यो देश, यहाँका नेता कहाँ हाम्रा आफ्ना सोच लाई बचाउन लाग्छन र, दिल्ली तिर दगुरे बिदेशी सोच भित्र्याउन पाइने भएसी ।
दुनिया बेबुर्सदी छ । र मान्छे हरुले मलाई बिबस परेका छन् । म धेरै पल्ट बिर्सीइएको छु र बिलाएको छु । कतिले लेखेर राख्छन, तर सबै त्यस्ता कहाँ हुन्छन र । म को हो भनेर नचिनेकालाइ मैले जति सुकै घमण्ड गरे पनी म के पो हो र !
किबोर्डको काम यस्ता एक एक दबाब लाई इलेक्ट्रिक सिग्नलमा बदल्ने, अनि त्यो सिग्नल लाइ प्रसोधन गरेर बाइनरी सिग्नल (डिजिटल सिग्नल) मा बदल्ने अनि त्यसलाई आफ्नो सानो प्रोसेसर र थोरै मेमोरीको सहायताले ए.एस.सी.आई.आई अक्षर हरुमा परिणत गर्ने काम हो । किबोर्ड नभएको भए मेरो के हुन्थ्यो होला ? कापीमा कलमले लेख्ने कति पो बाँकी छन् र ?
र यसरि एउटा एउटा अक्षर गर्दै झर्दै, शब्द बन्दै, म कम्प्युटरको प्रोसेसरको सहायताले मनिटरमा अनी ल्यापटपमा चलिरहेको माइक्रोसफ्ट विन्डोज एक्स.पी. मा खुली रहेको मोजिल्ला फाएर फक्स सफ्टवेयरको एउटा ट्याबमा खुलेर बसेको ट्विटर भन्ने वेबसाइटको ट्विट लेख्ने ठाउमा झरेँ !
कलमले कोरेको भए म मसि, बिन्दु, धर्का र अक्षर बनेर झर्थेँ । कम्प्युटर किबोर्डले मलाई इलेक्ट्रिक सिग्नल बनाइदियो । मेरा अक्षर बिधुत बने ! बिधुत प्रकाश जस्तो हो, म अब सुर्यको प्रकाशको गतिमा संसार को जुन सुकै कुनामा पनी जान सक्छु बाटो पाएँ भने एक सेकेन्डमा ! मेरो बाटो इन्टरनेट हो । इन्टरनेट मेरा लागि बनेको हो । मजस्ता अरबौ सोचका लागि । जसको यहाँ केहि मूल्य छैन ।
म हरेक अक्षर अनि हरेक शब्दमा जन्मी रहेको थिएँ । आधा शब्द लेखेर बोसले सोच्दै गर्दा कतै मलाई यत्तिकै बिर्सिने त हैन भन्ने डर लाग्थ्यो । तर म लेखिएँ आज । आज मेरो जन्म दिन हो ! असोज २७ । काठमाडौँ । ज्वागल । समय दिउसोको १२ बजेर ११ मिनेट जाँदा । म सोच हो र अब मेरो बोस को ट्विट हो जो अबको केहि बेरमा इन्टरनेटको यात्रामा निस्किदै छ !
बोसको पुरानो फोन मा घन्टी बज्यो । आज उसको एक जना साथीको पनी जन्म दिन, जन्मदिनको उपलक्ष्यमा सानो हर्सोल्लास कार्यक्रम छ साँझ एकछिन आउनु ल भनेको मैले सुनेँ अनी बोसले फोन राखेर ट्विटरको पोस्ट बटन थिच्यो !
जन्मेको एक मिनेटमा त्यो पोस्ट गर्न बनाएको फारम को खाली ठाउँबाट म फेरी कम्प्युटर भित्र छिरेँ । फेरी त्यस्तो बटन दाबे पछी म कम्प्युटर भित्र मोजिल्ला हुदै र्याम, प्रोसेसर अनि केहि बिशेष संचार बिधान सम्बन्धि परिमार्जन र रुजु गर्ने सफ्टवेयर हरुको सहायताले इन्टरनेट प्रोटोकल जस्ता बिधानहरुको दायरामा बाँधिएर एउटा खाम भित्र हालिएँ ! यसलाई इन्टरनेट प्रोटोकल खाम भन्न सकिन्छ । यो खाममा पठाउनेको नाममा मेरो बोस कम्प्युटर को आई.पी. ठेगाना अनि उसको युजर नाम, ठेगाना र गन्तब्यमा ट्विटरको हेड-अफिस शान फ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिकाको ठेगाना लेखिएको थियो । र म अब यात्रा मा निस्किन तयार छु ! लाग्ला ज्वागल बाट शान फ्रान्सिस्को पुग्न प्लेनमा दुइ दिन पो लाग्छ त !
खाम प्याक भएर बोसको ल्यापटपबाट निस्किन तयार भएसी मलाई बिदाई गर्न प्रोसेसर ले ल्यापटपको वाईफाई ट्रान्समिटर तिर जा भनेर इशारा गर्यो । म लागे रमाउदै । त्यो वाईफाई ट्रान्समिटर भित्र रहेको बिधुत सर्किटले मलाई वाइफाई सिग्नल मा परिणत गर्यो, यो पनी इलेक्ट्रिक सिग्नल नै हो ! र म बोस को ल्यापटप बाट बाहिर निस्के । म बसेको खाम अहिले बोस को अफिस को कुर्ची मुनि बाट माथि भित्ता मा ठोकियो । अनि झ्याल बाट बाहिर निस्क्यो । उता प्रशासन कोठामा रहेको राउटर मा गएर ढ्याङग बजारियो ! म फेरी राउटर भित्र डिजिटल सिग्नल मा परिणत भए, खाम सहित, म खाम भित्र छु, राउटर ले मलाई देख्दैन तर मेरो खाम मा लेखेको ठेगाना हेरेर रुजु गर्यो अनि मलाई राउटर बाट एन.टि.सी को तामाको तार को बाटो हुदै जा भनेर पठाईदियो !
उहिले साइबरको जमाना हुदाँखेरि कम्प्युटर को पछाडी रहेको आर.जे. ४५ भन्ने सकेट बाट बाहिर निस्किनु पर्थ्यो अहिले स्वात्त हावामा उडेर राउटर सम्म पुग्न पाइन्छ । यो वाई फाई बनाउने सोच पनी म जस्तै त थियो होला नि ?
हावामा हुँदा एन.सेल र हिट्स एफ.एम. का सिग्नल संग ठोकिने डर हुन्छ । हावा हुरी पानीले खाम रुझौला उडाउला भन्ने डर नि लाग्छ मलाई अलि अलि अरुले समातेर फोटोकपि गरेर राख्छन कि भन्ने नि डर हुन्छ तर यो तामाको तार मा त्यस्तो ठोकी हाल्ने डर चाही हुन्न । ऊ बोस को छिमेकीको भाइको फेसबुक को अपडेट नि एन.टि.सी तिरै हिनेको रैछ ! ओ हेल्लो फेसबुक ब्रो के छ ? संगै जाने हैन त सिलिकन भ्याली ?
एन.टि.सी इन्टरनेट सेवा दिने कम्पनि हो । के दियो त एन.टि.सी ले भन्ने लाग्ला । यी यो राउटर बाट निस्केर हिनेको गन्तब्य तिर लाग्ने बाटो दिने हो एन.टि.सी ले । प्लेन मा जान पर्या भए एम्बेसी गएर भिषा लिनु पर्थ्यो, एरपोर्ट तिर जान पर्थ्यो तर यसरी तार बाट अनि हावामा उडेर जान सक्ने भएसी आनन्द छ !
मलाई अनी मजस्ता अरबौ सोच हरुलाई ओसार पसार गर्ने बाटो बेच्छन यी इन्टरनेट सेवा दिने कम्पनिले । मान्छे हिड्ने बटाहरुको कर सरकारलाई तिरिन्छ । सोच हरु हिड्ने बाटाको कर यी सेवा प्रदाएक गैर सरकारी संस्थाहरुलाई दिनु पर्छ । सरकार ले लगानी गरे हुन्न इन्टरनेट सेवा दिन ? हुन त फेरी सरकारले लगानी गरे स्नोडेन का कुरा उठ्लान । जे होस् इन्टरनेटका बाटा बनेका छन् देशमा गाउँ गाउँ सम्म जोडिने यसैमा आनन्द लाग्छ मलाई, बोसले भनेको सुनेको ।
म तकरिपन २० न्यानो सेकेन्ड जति यी काठमाडौँका राउटर र स्विच बेच्नेहरुका तार हरु, एन्टेना हरु, झ्याल र ढोकामा ठोक्किएर नेपाल इन्टरनेट एक्सचेन्ज ने.पिक्स. मा पुगे ! यो यी सोच हरु हिड्ने इन्टरनेट का बाटा बाट ओर्लेर अब विदेश यात्रा गर्न निस्केको जस्तो हो ! ने.पिक्स. मा १-२ मिलिसेकेन्ड बिताएसी म सिंगापुरमा तिर जादै छु ! अनि त्यहाँ बाट युरोप अनि युरोप बाट प्यासिफिक मुनिको तार हुदै अमेरिका !
एक सेकेन्ड हुन लायो होला मा ज्वागल बाट हिनेको, क्यालिफोर्नियामा एटि.एन.टि को नेटवर्कमा छिरेँ म । ट्विटरको राउटर र फायेरवाल बाट छिरेँ, कता हिनिस भनेर सोध्यो त्यो राउटरले, मैले खाम देखाएँ अनि त्यो खाममा लेखेको आई.पी. ठेगाना हेरेर ल उ त्यो ठुलो सर्भर कम्प्युटर मा जा भन्यो ! म सर्भर मा छिरेँ फेरी सिग्नल बने अनि उनीहरुको कम्प्युटर भित्र मैले ट्विटर खाता खोल्दा मेरो लागि बनाइदिएको मेरो युजर नाम भएको न्यु फोल्डर सी ड्राइब् भित्र ट्विटर भित्र युजर्स भित्र नेपाल भित्र भूफस्ट ! र मलाई सर्भर को मेमोरी मा एककपि बनाएर राख्यो !
एक सेकेन्ड पछी म सर्लाही पुगें ! मेरो बोस को एकजना साथीको घर सर्लाही हो । र उसले मेरो बोसलाई फलो गर्छ ! मेरो बोस लाई जो जो ले फलो गर्छ त्यो सबैको कम्प्युटर मा त्विटर भन्ने वेबसाइटले मलाई फोटोकपी गर्दै पुर्याउदै गर्छ । ऊ दशैं मान्न सर्लाही गएको छ । मलाई देखेर गुन गुन पढेर मेरो बोसको साथि मुसुक्क मुस्कायो । मैले बोस को साथीलाई इशारा गरें, मलाई रिट्विट त गर ! मैले धेरै लाई अवस्था हेरेर सुरुमा मन्द मुस्कान दिन्छु, दभ्भ पार्छु, एउटा भावना दिन्छु, म यी मान्छेका अनुभवहरु संग मिसिएर उनीहरु जस्तै बन्छु, अनि बल्ल रिट्विट गर्न भन्छु र गर्छन !
मैले यो गर्न सक्छु किनकि म सोच हो । मैले आफुलाई बदल्न सक्दिन । मैले आफुलाई परिवर्तन गर्न सक्दिन । मैले सोच्न सक्दिन । तर म यात्रामा निस्केसी मैले बाटो खोज्न जानेको छु र मलाई थाहा छ म कहाँ जाने र कसरि जाने !
म फिनल्याण्ड पुगे त्यहाँ मेरो बोस को अर्को साथि बस्छ । फिनल्याण्डको साथीले फेसबुक तिर पठायो मलाई । म अमेरिकी सहर टेक्सस पुगेँ, त्यहाँ बोसको अर्को साथि छ । टेक्सस को साथीले मलाई अस्ट्रेलिया पुर्यायो । बर्लिन को बोसको साथीले रिट्विट गर्यो ! ५ मिनेट भित्र ५५ रिट्विट । बोस को एकजना फलोअर गूगल हेड-अफिसको कर्मचारी, उसलाई नि मैले कुत्कुत्याएँ ! उसले रिट्विट गर्यो ! यो रिट्विट भनेको डन्डिबियो खेले जस्तो हो । ट्याक लगाउने सबै मिलेर, कति पर सम्म लान सक्ने लाने ।
गूगलको कर्मचारीको रिट्विट ले झन्झनिदै म नाशाको कार्यालय को एकजनाको ल्यापटप मा पुगें । उसले हेर्दा ९९८ रिट्विट पुगेको रैछ । यसले मसंग कुरा गर्न खोज्यो । मलाई बुझ्न खोज्यो । मैले इशारा गरें, बुझाईदिए उसलाई । अनि गुड भन्दै उसले सानो कमेन्ट लेखेर अन्तर्राष्ट्रिय स्पेस स्टेसनलाई मेन्सन गर्यो ।
साँझ ८ बजे तिर स्पेस स्टेशन बाट एउटा फोटो आयो । म चित्र बनेर झरेँ । सगरमाथामा झन्डा गाडेका शेर्पा गाइडले मलाई हिउँ कुँदेर आइस आर्ट बनाए । अफ्रिकामा म एउटा भिडियो बने । मुम्बईमा म गीत बने । न्युयोर्कमा म रिभ्यु बने । दिल्लीमा मेरो बिरोध र्याली भयो । म तार हरु को दुनिया बाट फेरी मेरो बोस जस्तै मान्छे हरुको दुनियामा पुगेको छु । म फेरी जन्मेको छु । म एक ठाउँमा थिएँ तर आज अनेक ठाउँमा छु ।
मेरो बोस पागल भईरहेको होला, मेरो बारेमा कति ले के के भने भने मेरो बोस लाई कमेन्ट गरेर । मलाई त मजा आई र छ ! म यस्तै हो । म सोच हो । मलाई बाटो देउ । म हिड्न सक्छु । मेरो गन्तब्य म पहिल्याउन सक्छु । मलाई साथ देउ । मलाई निस्किन देउ ।
२०७२ साल ! मान्छेले बिर्से मलाई । म सन्डे मार्निंग रहिन अब म थर्सडे इभ्निंग बनेको छु । म जन्मिन्छु र प्रतिलिपि बन्छु । म छरीन्छु । म मेटिन्न । जसले सम्झिन्छ उसको लागि म सदाको लागि छु । जसले सम्झिन्न उसको लागि म छैन । म सोच हो । मलाई निस्किन देउ । म पानी हो । बग्न देउ । म सिर्जना हो, रचिन देउ । म गुलाब हो फुल्न देउ । म मुस्कान हो खुल्न देउ । म खुसि हो रमाउन देउ । म दुख हो साथ देउ । म घमण्डी हो ज्ञान देउ । म चेला हो गुरु बन । म सोच हो, मलाई मेरो गती लिन देउ, मलाई उड्न देउ । मेरो बाटो हिड्न देउ । मसँगै हिन, मेरो साथि बन !
मेरो बोस बेफुर्सदी मान्छे । उसले मलाई बिर्सिसक्यो । उ खोज्दै छ । के खोज्दै छ उसैलाई थाहा छैन । उसलाई थाहा देउ । मलाई नबिर्सी भन ।
सोच
https://bhupalsapkota.com/soch/