Bhupal Sapkota
माथी अटस्स जून,
थोरै तल बादल,
बादलले डाँडा चुमेको,
डाँडाको खोचमा,
झरना,
झरनाको चिसो पानी,
आच्छुछु!
थोरै उता,
सानो घर,
खरको छानो,
बाहिर म,
कतै पर हेर्दैछु,
देख्नेले ठान्ला,
टोलाएछ !
झरनाको संगित,
अनौठो तरङ्ग दिदैछ !
क्षितिजबाट सुनौला किरणहरु,
मेरो आँखा,
धमिल्याईरहेछन् !
झरना बांगो टिंगो बग्दैछ,
आहा! कस्तो संग्लो,
सेतो पानी!
हरियो बन,
लालीगुराँसको,
बासनामा,
लट्ठ छु म!
कतै,
मयूर जोडी,
समागमको धून,
दिदैछन् !
कतै,
डाँफे,
मुनाल,
अनि,
कोइली,
गीत सिक्दैछन !
म आनन्दित छु,
सायद,
नेपालीले भोग्ने दृश्य,
यत्ति हो,
भोग्दै छु !
नेपाल – नेपाली
https://bhupalsapkota.com/nepal-nepali/