Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

Bhupal's Newsletter

If you want early access and opportunities that I don’t post publicly, get on my email list.

Home

प्रेमचरो

प्रेमचरो

#1

माहोल बेइमान छ। ऊ यत्तिकै रोमान्चित हुने मान्छे हैन । सधै जूनको उज्यालो हेर्ने, आज बढ्ता उज्यालो को सामिप्यता मा छ । पुरानो शितलताको भोगी, आजको शितलता बढी चिसो थियो भन्दै छ । एकतमास को माया, साथीको होस् वा घर परिवारको, त्यो नौलो बनेको छ आज । आज अचम्म भएको छ – कसैसंग उसका नयन टकराएका छन्  । ऊ जीवनमा पहिलो पल्ट कसैबाट हेरिएको – भ्रम मा छ । उसको मन हेरी रे कसैले ! यस्तो हेराइ आजसम्मन उसको अनुभवमा छैन, सिवाय जूनको । ऊ जूनको उज्यालो को पारखी । टोलाउनु उसको मन खाएको काम ।

“म बिर्सिन चाहन्छु ती नयन हरु”, बर्बरायो । ढाट्यो, प्रयास गर्यो । सकेन । ऊ पल-पल आखाँ चिम्लिँछ, मानौं ऊ आत्मसमर्पण गर्दै छ, त्यो क्षण फेरी भोग्ने आशमा । विगत कहिले पो फर्केथ्यो र ? “सम्राट, ओ सम्राट !!!”  कसैले बोलाउछ । एकसुरले टहकिएको ऊ, झस्किन्छ । चपक्क मन संग टाँसेको उसको सिरानी अचानक भुइँमा खस्छ । सम्राट आत्तिन्छ । के गर्ने ? कि केहि नगर्ने ? खै ! लर्बरिएको स्वोरमा – “ल आएँ आमा” । खाना खाने बेला भएछ ! अचम्म मान्दै छ ऊ । “यती चाँडो रातिको आठ बजिसके छ” । आफैलाइ प्रश्न गर्छ – “के भो हँ मलाई ?” “हैन के भयो आज दाइलाई ? खाना उठी-उठी खाने होस् ? “, राजुले जिस्काउछ । सम्राट केहि नभएको जस्तो गर्न खोज्छ । ढाँट्न नजान्ने मान्छेले किन ब्यर्थ समय बर्बाद गर्नु । “केहि त गरिस आज, भन न, ओए भन न ? “, राजु बोल्यो ! यो उट्पट्याङ छ । यस्तै ।

घडी हेर्यो सम्राटले । “ओ पा ! पौने दुई ? राम राम !”

सिरकले मुख ढाक्यो । स्यानो बत्ति ले निलो प्रकाश फाल्दै थियो । सम्राटका आखाँ मा ठोकिन्थे ती निला किरणहरु, सिरक को चर-चर बाट, छिरेर !
ऊ अझै उही नयन सम्झिरहेथ्यो । दायाँ फर्कियो, बायाँ फर्कियो ऊ । माथि फर्कियो, आफ्नो ज्यानलाई खुट्टा र टाउकोको भरमा सिलिंग तिर तन्कायो । ऊ केहि चाही रहेको थियो । के चाहिँ, उसलाई थाहा थिएन । ऊ शान्त भयो, घोप्टो पर्यो, खाना खाएको सम्पूर्ण बलले ज्यान भुइँ तिर धकेल्यो । विवस, लम्पसार परेर । यसरी गुटुमुटिएर सुत्यो आज, मानौं केहि नपुगेको थियो त्यहाँ । ऊ थोरै साथ अनि माया खोजिरहेथ्यो । बाहिर सुत्ने बिरालो भन्दा डल्लो परेको थियो ऊ ।
आफ्नो जीवन अपुरो मान्यो उसले । “नपुगेको कुरो केहि त छ..” । ऊ त्यो हेराई भोलि कलेजबाट फर्किदा पनि हेर्न पाउँ भनेर कसै संग पूकार गर्दा गर्दै निदायो। किन ननिदाओस् रात को चार बजे त लामखुट्टे पनि सुत्छन ।

इन्जिनीयरिंग को बिध्यार्थी सम्राट कक्ष्यामा ठिकै छ । एभरेज भनुम – पढाई सन्तोषजनक हुनुपर्छ । ऊ हार्डकपि पड्दैन । कम्प्युटर छाड्दैन । उसको खुसमिजास र मजाकिपन को साथीहरु मुक्तकण्ठ प्रशंसा गर्छन । उसका भेज, नन-भेज जोक्सहरुमा माहोल हाँसोमय बनिदिन्छ । “आज के भयो सम्राट लाई ?” कलेज को हट न्युज । आज ऊ कलेज बिल्डिंगको छतमा छ । बिहान देखिन । ऊ घर फर्किने बाटोतिर पर कतै केहि नियालिरहेछ । “बिरामी भयो होला !” साथीहरुको शंका । हतार-हतार ब्याग बोक्यो । एकतिर मात्र बिर्छ ऊ त्यो । देब्रेतिर पार्दै आफ्ना न लामा, न छोटा खुट्टा, हिजो-अस्तिको भन्दा बढेको रफ्तारमा अगाडी बढायो – घरतिर ! आज साथीहरुलाई पर्खिन बिर्सेको थियो उसले ।

मौसम चोर छ आज । मादक छ । हावाको मन्द बहाब ले पनि मनमा एउटा अनौठो तरङ्ग दिने ! सुस्त कान पछी बाट आएर, टक्क अडिएर, म के सोच्दै छु चोरेर भाग्न खोज्देई छ, त्यो । सम्राटका आखाँ अल्ली अगाडिको बेल को रुख मा अडिएका छन् । मैले अघि जति बयान गरें आजको मौसमको, सम्राटलाई त्यसले केहि फरक पारेन । ऊ एकोहोरो त्यहि रुख मा पुग्न लम्किदै छ । हावा ले उसको मन चोरेको उसलाई पत्तो छैन । कलेजबाट फर्किदा बाटोमा पर्ने त्यो रुख आज उसको स्वप्न महल बनिदियो । महल बन्न छत चाहिदैन रैछ । न त ढोका, झ्याल । अहँ, केहि पनि । जब आफ्नो अगाडी आफूले सपनामा देखिने परी उभिन्छे कुन सम्राटले सम्झेला ऊ बेलको रुखमुनी छ, माथिबाट बेल झरेर टाउको फुट्ला ! झर्यो भने त्यो तेतिखेरै थाहा होला ।

मधुशा आज पनि हिजोको जस्तै गरी त्यहिँ उभिरहिथी । यो संयोग लाग्दैन । जतिबेला, जुन ठाउँमा, जस्तो जम्का भेट हिजो भयो, जस्तो मन हिजो बन्यो त्यो सबै आज उस्तै लागि रहेछ । अहँ, कत्ति फरक छैन ! सम्राट शब्द बिहिन छ, उसका इन्द्रियले अर्थ खोजेनन, शब्द खोज्दैछन । ऊ एकतमास लाटोले केरा हेरेझैँ भयो । मानौं ऊ लाटो अनि मधुशा । मधुशा अचानक ऊ तर्फ फर्की । सम्राट ले के देख्यो, तर मधुशाका आखाँमा अचम्म लजालु अनि समर्पण भाव झल्किन्थ्यो । सायद कुनै समय, समय बन्द भएको भए त्यो बेला हुनुपर्थ्यो ।

सामान्य मध्यम बर्गीय परिवारकी मधुशा सुन्दर छे, आवरण र मन दुबैमा । काठमाडौँ उसको मन लाग्ने ठाउँ रहेन । उ काकाकोमा बसेर पढ्न आएकी – पोखरा । राम्रो पढ़ली, केहि नया कुरा, ब्यबहारिकता सिक्ली भनेर आमाले पनि हुन्छ भन्नु भा’को । काठमाडौँको यादहरु त्यहिँ छाडेर, पुराना कुरा बिर्सिउं अनि नयाँ अनुभव बटुलम भन्ने उसको सोच । नत्र नयाँ ठाउमा झट्ट हिंडीहाल्ने केटि हैन ऊ । हुन त पोखराको कुराले पनि तान्छ भन्छन ।

हिजोको नयन संगम मधुका लागि पनि उत्तिकै तड्पन थियो । त्यो हेराई उसको अनुभबको हेराई भन्दा निस्वार्थ थियो, नौलो थियो अनि मायालु । उसले सम्राटलाई बर्षौ पहिले देखि चिनेकी जस्तो मानेकी थिई त्यो पल । आज पनि । उसले आज सम्ममा सबभन्दा बडी ऐना हेरेको दिन हिजो । उसले सम्राटको सम्झनामा आफ्नो ऐनामा आफूलाई भेट्दिनथी । आफुसंग भएका पुराना केहि तस्बिर हरु उसलाई हिजो बाट चाहिएनन, धुजा-धुजा पारिदिई, जलाईदीई । ती केसका वा कसका थिए कसैले चाल पाएनन । उसलाई ती मेटाउनु थियो, कसैलाई सुनाउनु थिएन । मनमा ढोका हुन्थ्यो भने, मधुको मनको ढोका कसैको लागी फेरी खुलेको थियो । श्रिंगारिएर ! सायद यादहरु भन्दा वर्तमान निश्चल लाग्थ्यो । वा सायद काठमाडौँ भन्दा पोखरामा अर्कै अनुभव हुन्थ्यो । त्यो जे थियो तर मधुको मुहारमा चमक थियो । बिहान चाडै उठी-ओरि चिटिक्क परेर नौलो चालमा कलेज लागेकी थिई मधु आज । यहाँको नयाँ प्लस-टूमा 12 मा पद्छे ऊ ।सम्राटको कलेज र मधुको कलेज जाने बाटोलाई त्यो बेलको रुखले काट्थ्यो । चोकको चौतारोमा बर र समी को रुख हुन्थ्यो भने त्यहाँ सायद यो एकान्त पल अनुभव हुन्थेन । दुई मिनेट नै सहि तर कोहि कतै आवत जावत नगरेको पल समय रोकियो भने त्यो समय अनन्त बनिदिन्छ । समय तब रोकिन्छ जब कसैका नयन लठिन्छ्न, कोहि अरुकामा, मधुका सम्राटकामा, सम्राटका मधुकामा, यस्तरी !

ओरिपरी केहि भएको छैन, सबै कुरा टक्क अडिए । मौन छन् । हावा कुरो उडाउन कुरेर बस्छु भन्छ, बेलका पातले हल्लिएर किन शान्ति खलबल गर्नु भन्दै छन् । बाटोले दुबैका पाइला चप्पक्क अड्याएको छ । आफूलाई टेक्दैमा बटुवालाई पछार्नु पर्छ भनेर बाटोले सोच्दैन । केहि हिनेको छैन । आवाज आइरहेको होला, तर दुबैका कान बन्द छन् । आखाँले के हेरिरहेका छन्, किन हेरिरहेका छन्, कसलाई हेरीरहेका छन्, यी कुरा हरुको केहि अर्थ छैन यहाँ । बस् मन मनमा अडिएपछि, अरु केहि हुनु नहुनुको के अर्थ लाग्छ र । मौनतामा स्वीकारोक्ति हुन्छ भन्छन ।

सम्राट यस्तो बेलामा पनि बोल्दैन |।मधु सम्राट बोलोस सोच्दै छे । दुई जना नबोल्ने भए को बोल्ने त अब ? सम्राट सोच्छ “बोल्नु नी, लाटी त हैन होला नी…”
“कस्तो होला यो मान्छे खाऊँला जस्तो हेरी मात्र रक्छ, बोलाउनु नी… उल्लु..” । यो फिल्म भएको भए अनि म दर्शक भएको भए जुत्ता फुकालेर सम्राट को टाउको ताकेर हान्थे । के गर्नु ! धन्य होस् पर्भू ! यी दुई को मुख सिलाएर पठाएको हो ? मनमा चाहना हुदाँ हुदै नबोल्नु मुर्ख ले मात्र गर्ला । हुनत मुर्ख कतिबेला नबोल्ला र ।

बेलको रुखमा बसेको परेवाको जोडी उड्न खोज्दै थिए – छिस्रिक्क आबाज आयो माथिबाट । हाँगा हल्ले । ती अन्जान पंक्षीलाई सुटुक्क उड्न आएन । रोकिएको समय चल्यो सायद । हावा हास्दै छ । बेलका पात हरु सुसेल्दै छन् ।

“हाई !” मधु आत्तिदै बोल्छे ।
“हेल्लो ! म सम्राट । ” अचम्म भयो । केहि बोल्न आएन भने हाई गर्नु, नेपाली हाई । निद्राको हाई ले नी काम गर्छ ।
“म मधुशा । सबै मधु भन्छन, तपाईं के भन्ने ?”
“ओके ! मधु ठिक छ । मन पर्दो नाम ”
“हाहा ! थ्याँक्स “, मधु अल्ली चाँडो हाँस्छे । कैले काहिँ जे मा नी हाँस्छे । बानी !
“कता बस्छौ ? देखेको जस्तो लाग्दैन नी ? ” भर्खर आएकी नयाँ मान्छे लाई कसरि देखोस त सम्राट । यो रेट मा कुराकानी गयो भने – हिजो देखेर मन पनि पराको कैले भन्ने हो ।
“म यतै हो, अंकलको मा बस्छु । सविताको मा । चिन्नुहुन्छ ? दुई हप्ता जति भयो यहाँ कलेज ज्वाईन गरेको । काठमाण्डौं बाट लखेटे घरकाले । हाहा “, मधु ले सोधी “तपाइँ कहाँ बस्ने ? ”
“म यहि हो । पाँच मिनेट लाग्छ यहाबाट मेरोमा जान । “, “एए, कुन कलेज हो ?”
मधु – “नयाँ खुलेको छ नी .. ”
“अहिले कलेज बाट फर्केको ? ” सम्राट ले सोध्यो ।
“हैन नी, साथीकोमा गएर आएको । हाम्रो मर्निंगमा हो.. तपाइँ कलेजबाट त्यसोभए ? ”
“हजुर !”

कुराहरु, त्यसमाथि पनि अघि बढाउन खोजेका कुराहरु, सितिमिति सकिदैनन । बोल्न चाहेको मान्छेसंगका कुराहरु किन रोक्ने ? कारण नै छैन । यस्तरी बोल्न फेरी पाउने हो कि हैन फेरी । यस्सो बाटोतिर हेरेको सविता नजिकै आइपुगीछे । मधुकी काकाकी छोरी – दिदि । “ऊ, सविता दिदि उहाँ नै हो । अघि भनेको थिए नी “, सम्राटलाई चिनाइ मधुले । लजालु पारामा दिदीलाई सम्बोधन गर्दै मुसुक्क मुस्काई मधु । सम्राट पनि हाई भन्दै मुस्कायो । ती दुईका नयन एक अर्कालाई नै खोज्दै थिए । सविता सायद त्यहाँ चाहीएकी थिईन । मस्त मधु सम्राट लाई हेर्थी, सम्राट मधु लाई । सविताले नदेख्ने गरि । सविता माहोल बुज्छे । वा भनुम सविताले नदेखे जस्तो गरि ।

मह काड्नेको हातबाट भाँडामा मह तप-तप खसिरहे जस्तो, सम्राटलाई हेर्दा हेर्दै हेरेको हेरै गर्दा गर्दै सविताले हात समाती मधुको – “भेटिस त नीलम लाई ? जाम हिन घर …” । “बाई सम्राट “, खासखुस गफ गर्दै उनीहरु छुट्टिए सम्राटसंग बाट । अल्ली पर पुग्दा सम्मन सम्राट त्यहिँ, उही अबस्थामा छ । ऊ मस्त छ । उसले मधु सुनेको छ । उसले एकछिन समय रोकेको छ । समय जितेको मान्छे । कसैलाई मनले हेरेको मान्छे, कसैको मनले हेरेको मान्छे । ऊ किन हल्लिने ? अल्ली पर पुगेपछि सविताले पछाडी फर्केर हेरी । सम्राट लजायो । अर्को तिर हेर्यो, एउटा बेल पाकेको रैछ, उसको देब्रे तिरको तीन मिटर जति पर अनि अल्ली माथिको हाँगामा – “यो टिपेर खान पर्छ !”

#2

सविता बिस्तारै बोल्छे । ऊ अल्ली गम्भीर स्वभावकी छे । ऊ कोहि प्रेममा तड्पेको थाहा पाउन सक्छे । यहाँ अनुभव को कुरा हुन्छ । “ल म कुरा गरिदिन्छु तेरो राजा संग, चिन्ता नगर भो ” दिदि बहिनिको बिचमा कुरा लुक्दैनन – सायदै । मधुको राजा अर्थ लाग्छ होला यहाँ । “के हो ? के हो ? लव परे जस्तो छ नी कसैको ? ” राजु जिस्किन्छ । मुसुक्क हास्यो सम्राट । खाना चाडै खायो आज । खाटमा पल्टेर, झ्याल बाहिरको मन्द जूनको उज्यालोमा केहि खोजिरहेछ – अहिले ।
उसले मन मनै अठोट गर्न खोज्दै छ । “माया गर्ने मान्छे नी डराएर हुन्छ ? ऊ संग मन को कुरा भन्न केको हिचकिच ?”

….

आज शनिबार । कलेज छुट्टी । ऊ घरबाट, “घुम्न हिडें”, भन्दै निस्किन्छ । ऊ यसरि हिड्न रुचाउँछ । घुम्दै फिर्दै सम्राट बेलको रुख मुनि पुग्यो । एउटा सानो बस्न मिल्ने ढुङ्गो छ रुख मुनि, ऊ आडेस लगाउन खोज्दैछ । “एस्तो पनि हुन्छ कहिँ ? हिजो देख्यो आज मन पर्यो ? अहिले भेट्नु पर्यो रे अनि मन खोलेर बोल्न मन लाग्यो रे । मनमा जेजे लाग्छ त्यहि त्यहि हुने भए के हुन्थ्यो यहाँ ? के नै कुरा भयो र हाम्रो ? मधुले राम्रो संग चिन्दा त चिन्दिन मलाई ? कहाँ बस्ने हो ऊ त्यो नी थाहा छैन ? ” सम्राट अंतर्द्वोंद मा छ । ऊ आफैलाई अनेक प्रश्न सोध्छ । आफ्नै निस्कर्ष निकाल्छ । “थुक्क कायर ! कायर प्रेमी !!”, आफैलाई गाली गर्छ फेरी ।
म के भन्छु भने, प्रेम गर्ने हो भने मुटू दरो हाल्नु । सम्राट गधा हो । गधाको ज्यान दरो हुन्छ, मुटू सायद दरो हुन्न । संयोग भनम, सविता त्यतै आउदैछे । मधुसंग देखेकोले सम्राट सविताको नजर पर्न अप्ठेरो मान्छ । यी पहिलो नजरमा प्रेम गर्नेहरुको चरित्र कसले पो बयान गर्न सकेको छ र । नजिकै आउन लाग्दा सम्राट बिस्तारै मुस्काउछ । उसको अनुहार निश्छल छ । हाँस्दा झन उज्यालो देखिन्छ उसको चेहरा । परिस्थिति बुझ्ने मान्छेले संयोगलाई आत्मसाथ गर्छन । आफ्नो बनाउछन । संयोग, माने संयोग नमाने तयारी, कसैको । सविता सायद त्यहिँ सम्म आएको हुनुपर्छ, अथवा ऊ अन्त कतै जाँदै छे । ऊ मिठो मुस्कान फिर्ता गर्छे । यसरि कसैलाई मुस्कान फिर्ता गरिने पलहरु जिन्दगीमा सबभन्दा सुन्दर पल हुन् । मिठो मुस्कान ले मन मिठो पर्छ । चित्त सुद्द पर्छ । चिन्तन सात्विक पार्छ ।

“सम्राट तिमीलाई मधुशा कस्ती लाग्छे ? ” “दिदि”, केहीबेरको फर्मल भलाकुसारी पछी सविताको कुरा सुनेर सम्राट अरु केहि बोल्न सक्दैन । सायद यो प्रश्न अल्ली अप्ठेरो हो । “दिदि” , “म उसलाई बिर्सन सक्दिन…”, “यस्तो कसरि भयो…”,  “म मधुशालाई मन पराउछु !” सविता हाँसी | उसको हाँसो ठूलो छ । दिल खोलेर हाँस्छे ऊ । सम्राट अवाक, धोधारमा छ – त्यो हाँसो मा हाँस्ने कि के गर्ने ? “आफैँ कुरा सुरु गर्ने अनि, मन खोलेर कुरा गर्दा हाँसोमा उडाउने ? कस्तो मान्छे होला ? “, सम्राट यो कुरा ब्यक्त गर्दैन । गरेपनि ब्यर्थ हुन्थ्यो । कोहिँ हाँस्दा केहि गर्ने हो भने आफू पनि हाँस्नु । “सम्राट ल लेउ यो चिठी । तिम्रो लागि हो । मधुले पठाएकी । ऊ बुवा बिरामी हुनु भएर काठमाडौँ गइ बिहान ” ।

ढोका चुक्कुल छ । ऊ झ्यालमा छ । सम्राट आज सुत्ने वाला छैन । मन्द चिसो रात्रिमा मधुर स्वरमा बहेको हावा, जूनको उज्यालो – ऊ दङ्ग छ, अनि हातमा त्यो चिठी । “थ्यांक यू सविता दिदि !”, ऊ कृतज्ञ छ सविता प्रति । ऊ हावा संग कुरा गर्दैछ । कोठाको बत्ति अनि बाहिरको मन्द उज्यालो, त्यो चिठी धपधपी बलेको छ मान्छ सम्राट । एकदम सुस्त संग, मिठो चुम्बन गर्छ चिठीलाई, मानौं उसका ओठहरु मधुको ओठमा जोडिने छन् । मानौं त्यो चिठी मा थोरै मह पोखिएको छ, र त्यसलाई बिस्तारै ऊ आफ्ना ओठमा सार्न चाहन्छ । महको पारखीलाई सोध्नु, आँखा बन्द गरेर, महले ओठमा स्पर्श गर्दाको पल !

सम्राट चिठी खोल्न चाहदैन । ऊ अहिले नाच्न चाहन्छ एकछिन । उसलाई अहिले नाच्न संगीत चाहिदैन । ऊ समाचारमा नाच्दिन्थ्यो त्यो पल, समाचार बजाएर नाच भन्ने हो भने ! “के लेखि होला मधु ? हिजोको आजै यस्तो पनि हुन्छ रैछ !” सम्राट गुनगुनाउछ । ऊ आफैले गरेको प्रेममा शंका ब्यक्त गर्छ । सायद यस्तो नहुनु पर्ने थियो होला, भयो – सोच्दै छ । “के पहिलो भेटमा नै प्रेम हुन सक्छ र ? ” यी कुरा दिउसो सविता संग बोल्दा सोच्नु पर्ने हो । भएनी नहुने, नभए नी नहुने । सम्राटको स्थिति अहिले सामान्य छैन । होस् पनि कसरि नसोचेको तर चाहेको भएपछि यस्तै त हुन्छ । सम्राट सोचमा डुबुल्की मार्दै छ । निद्रा आउने नाम छैन । यस्तो लाग्दैछ ऊसलाई सुत्न पर्दैन । ऊ कहिलै सुतेन र सुत्न बनाइएको हैन । ऊ बस् मुघ्द छ – मधुमा । दुई बज्यो । पत्र भित्रको लेखाईको बिश पच्चिस नमुना सोच्यो।| सबैको अर्थ लगायो – आफ्नै भाषामा । यतिबेर मनले भड्कायो सायद सम्राटलाई । तीन बज्यो । उसको दिमागले बल्ल काम गर्यो – चिठी खोल्न चाहन्छ । ऊ अब ढुक्क सोच्छ – “जे लेखेको भएपनि, मधुले मेरो लागी लेखेको हो ।”

“सम्राट, म तपाईलाई प्रेम गर्छु, र यो कुरा नभने सम्म तपाइँ सामु अरु केहि बोल्ने सक्ने सामर्थ्य रहेन मसंग । आफैँ दङ्ग छु, यस्तो पनि हुदों रहेछ । न त पहिले देखेको, न त खासै बोलेको तर, तपाइको एक नयन तिरबाट मधुशा घायल छे । पल-पल म त्यो तपाई संग भेटिंदाको दृश्य मा हुन्छु, मानौ कसैले टिभीमा हाम्रो च्यानल लगाएर पज गरेर भाग्यो । त्यो पल तपाइले मेरो समय चोर्नु भयो । मेरो बोलि चोर्नु भयो । मेरो दृश्य सबै चोर्नु भयो । मलाई आफूमा सार्नु भयो । केहि नभन्नुहोस । बिन्ति ! स्वीकार्नुहोस यो मधुशालाई । प्राण उनेर पठाएकी छु  – पत्रमा ।”
– मधुशा

उफ्र्यो सम्राट खाटबाट । चिच्यायो । उसका आखाँबाट बरर्र आशु खसे – खुसीका । मानौं ऊ योद्धा हो, र लाखौ संघर्ष पछी उसले युद्द जितेको छ । ऊ भाव-विव्हल छ – खुसीमा । सम्राट यति खुसि जिन्दगीमा कहिल्यै भएको थिएन । ऊ दङ्ग छ । फुरुङ्ग छ ।  उसलाई अहिले भर्खर सगरमाथा चड्न मन लाग्यो । ऊ आगो बल्दिन्छु जता ततै सोच्छ । ऊ डोरीले जून धर्तीमा तान्छु भन्छ । उसलाई गर्मि भईरहेछ । उ माथि पानि पर्यो भर्खर । ऊ छाता ओड्न चाहन्छ । ऊ केहि सम्झिन चाहन्न, संसार बिर्सन चाहन्छ – केवल । ऊ आफु हराएको छ – मधुको पत्रमा । त्यहाँ छैन ऊ । उसले आफ्नो अस्तित्व छ मान्दैन । ऊ बिलिन छ । यो सपना हुन सक्छ, वा बिपना । ऊ दिल खोलेर रोइरहेछ । यो खुसीको रोदन हो ? वा दुखको यो उसैलाई थाह छैन । ऊ मधु संग छ । उनीहरु मस्त छन । ऊ मधुलाई चुम्छ, मधुमा बिलिन छ । ती दुई एक छन । त्यहाँ दुई जना छैनन् । त्यहाँ के भइ रहेछ त्यसको अनुभवको ती दुइले बाहेक अरुले अर्थ भेट्दैनन । के भईरहेछ उनीहरुलाई मात्र थाहा होला । प्रेमको वास्तविक अर्थ खोज्नेहरु त्यहाँ जानु ।
बिहानको पाँच बज्यो !

/*
– originally written on : 2061/12/24 Sunday
– edited/posted : 2067/11/10 Monday
– palpasa cafe pade pachhi lekheko ho love letter chai 🙂
*/

Category: writings
Tagged with:

Copy & Share

प्रेमचरो
https://bhupalsapkota.com/lovebird/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *