Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

शङ्ख र स्याल

बुवा आमाको ५० औं बर्षगाँठ्को अवसर पारेर काठमाडौँको धुलोमैलो बाट केहि दिन विश्राम लिन म यो हप्ता चितवन छु । आफू हुर्केको ठाँउ, धुलो कम, धुवाँ कम, हो-हल्ला कम आनन्द लाग्छ ।
मलाई  यो सन्सारमा म जति कोहि सुत्दैन होला जस्तो लाग्छ । सधैं राती  ८ बजे सुतेर बिहान ८ बजे उठ्ने प्राणी म आज के भयो कुन्नी पौने पाँच बजे मेरो आँखा खुल्यो । माइलो दाजिले राती बिउँझेको बेला घडी हेर्यो भने निद्रा लाग्दैन मनमा कुरा खेलीराक्छ भन्नू हुन्थ्यो एकछिन त्यही कुरा सम्झेर घडी तिर आँखा लगाइन तर मनले मानेन अनि घडी हेरेको ठ्याक्कै पाँच बजेको रहेछ ।
छानो हेरेर टोलाईरहेको थियेँ एक्कासी पुँहु, पुँ गरेर बडा मजाको शङ्ख फुकेको आवाज अलि पर छिमेकको कुनै घर बाट आयो । यो शङ्ख पनि बडा मजाको चिज छ यार ।  करिबन दुई-तीन मिनेट को शङ्खको आवाज पछि त्यो रोकियो । एकछिन आफू हिन्दु परिवारमा जन्मेर हुर्केकोमा गर्व महसुस भैरह्यो । आफू यस्तो संस्कारी छर छिमेक मा बस्ने अहोभाग्य लियेर आईयेको रहेछ । शङ्ख बज्नु, घण्टी बज्नु भगवानका आरति गुन्जनु एउटा दैविक र आध्यात्मिक माहोल दैनिक एक घन्टा बन्नु सानो कुरा हैन जस्तो लाग्छ । आफ्नो संस्कार, परम्परा, रितिरिवाज यसरी दैनिकी बन्दै गुन्जीरहेको सुन्दा मन आनन्दित हुन्छ ।
जमाना फेस्बूक र टुइटरको छ । बिहान सबेरै उठेर हग्न जानू पुर्व सर्सर्ती फेस्बुक र टुइटरमा स्क्रोल गरियेन भने पाद मात्रै आउँछ । सात बजेतिर आलाराम बजायेर जबर्जस्ति उठ्यो, चिया नास्ता गर्यो, येसो टाइम्लाइन चिहायो, खाना खायो, अफिस तिर हान्नियो, कतिबेला पाँच या छ बज्ला भनेर कुर्यो अनि घर फर्कियो । यस्तो हतास र मोडर्न सैलिको दैनिकीले भरिएको अनुभवहरु माज शङ्खको ध्वनीको गुँजले बडा अनौठो अनुभुति दियो आज ।
म अझै छानै हेर्दै थिएँ । यसो भित्ताको घडी तिर आँखा गयो, साडे पाँच बजेछ । अचानक कुहिँया, कु… कुहिँया, कु, को को गर्दै एकहुल स्याल कराए । हाम्रो छिमेकमा भाले कम स्याल ज्यादा छ्न जस्तो लाग्छ । घरबाट ५०० मिटर जति दुरिमा स्यानो खरबारी (जंगल) छ । केहि सालका रुख, बाँस अनि खर । त्यहाँ दुई तीन हुल स्यालले यो एरियामा बस्ती बसेदेखी डेरा जमाएकाछन् । स्यानो छँदा मेरो गुड मर्निङ र गुड नाइट यिनै स्याल बासे पछि हुने गर्थ्यो । बिसौँ बर्ष देखि सुन्दै आएको आवज आजकल खासै बिझाउन्न । एकछिन कराउछन्, रोकिन्छन् । बिचरा जन्तु न परे ।
यो टोलका बासीहरु स्याल कराउनु सङ्ग बानी परिसके । तर कसैले मलाई तेरो गाउँको एउटा मन नपर्ने कुरो सुना भनेर कसैले सोध्यो भने यहि स्याल कराउनु एक नम्बरमा पर्छ । यतिका बर्ष बिताईयो तैपनि झल्यास्स मनमा यस्तो स्याल कराउने ठाउँमा पनि कोहि बस्छ भनेजस्तो हुन्छ ।
यो उमेर अचम्मको हुँदो रैछ । सबै कुरा उमेर कै खेल हो जस्तो लाग्न थालेको छ आजकल । जन्मियो, हुर्कियो, १५-२० को हुँदा सम्म स्कुल गैयो । स्कुल पछि क्याम्पस । क्याम्पस पछि जागिर । जागिर पछि बिहे । बिहे पछि छोराछोरी, परिवार । परिवार पछी घरजम । अहिले तीस काटेर यसो गमेर हेर्दा अब घरजम गर्ने उमेर भयो कि भन्ने भान हुन्छ । खयर भोग्न, देख्न धेरै बाँकी छ । हाललाई यहि घरजमको कुरा गरौँ ।
म आजकल यो घरजमको बिसयलाइ लिएर बडा दोधारमा छु । ल घरजम त गर्ने तर कता गर्ने ? आफू हुर्केको बढेको ठाँउ भर्सेस् आफू पढेको, जागिरमा जमेको ठाउँ । काम धाम सबै छाडेर काठमाडौ छाडेर कुम्ब्लो बोकि चितवन मै पो बस्ने कि? मेरो उमेर थेउरीले फेरि झकझक्याँउछ । हैन गर्ने बेला, गरिखाने बेला आफ्नो कर्म थलो छाडेर कहाँ अन्त बस्नु?
४७ सालमा बाग्लुङको दमेक बाट चितवन आँउदा म ४ बर्षको थिएँ । त्यो बालापन त सबै सम्झन्न तर आफू सम्झिन सक्ने भयेपछीका दिन सम्झिदा यो ठाउँ एउटा सानो २०-३० फराकिलो गरि ठडिएका १-२ इटाले बनेका अरु खर या जस्तापाताका घरहरुको झुन्ड थियो । हामी ८-१० जना केटाकेटीको समुह । साथीहरू माझ खेल, कुद, हाँसो, रुवाइ सबै थियो । गाउँ भरिमा एउटा स्कुल । हामी त्यहीँ पढ्ने । हरेक घरमा भैंसी,गाइ, बाख्रा पाठा । पुग्दो दूध, घिउ । हरेक घरको आफ्नो करेसाबारी । तरकारी किन्नु नपर्ने । नुन र चिनी साबुन किने पुग्ने । तेल आफ्नै बारिको तोरि पेलेर पुग्ने । भात आफ्नै खेतको धानले पुग्ने । आटो पिठो आफ्नै बारिको गहुँ र मकैले पुग्ने । रमाइलो चाहियो ५-६ घर का बुढा पाका जमेर ट्वान्टी-नाइन र दहर मारा खेलेको हेरे पुग्ने । हरेक घर आफैमा पुर्ण लाग्ने । हरेकको जग्गा जमिन प्रसस्त थियो, घरमा कामको खाँचो कहिले थिएन । भोक थिएन, रोग थिएन । पढाई-लेखाई तिर बिस्तारै गाउँले हरुको चाख बस्दै थियो । पढे लेखेका मान्छे भेट्न गारै थियो । खेती किशानी मै मान्छे हरुको दैनिकी सुरु हुन्थ्यो र सकिन्थ्यो । एकमन लाघ्छ, यो पो हो त मैले घरजम गर्न खोजेको दैनिकी । फेरि अर्कोतिर लाग्छ, धत् जमना कहाँ खेतीपाती को रह्यो त? तर बिगत सम्झेर कहिले पो के पो भएको थियो र आज हुन्छ ?
आजकल शरदपुर सिमेन्टका घरहरुले भरिएको छ । यहाँ खाली जग्गा कमै छ । आजकल यहाँ करेसाबारी छैनन । धारे चोकको तरकारी पसलमा ताजा ताजा फलफुल  तरकारी पाइन्छ । या ठेलामा भैया आउँछ, आमै तरकारी चाहियो कराउँदै । यहाँ आजकल खेत छन खेतमा काम गर्ने किशान छैनन । यहाँको खरबारीका रुखका पात हल्लिदा आजकल जापान, अस्ट्रेलिया, पोर्चुगल, अमेरिका तिरको हावा आउँछ । यहाँका स्यालहरु आजकल कराउने हैन रुन्छन जस्तो लाग्छ ।
बाटो घाटो चिल्लो पिच बनेको छ । एक घर दुई पसल को नारा जिबन्त देखिन्छ । एक घर बाट एक जना बिदेश नगएको घर छैन । हुर्केका दौँतरी कहाँ कता छ्न तिनका फेसबुकका फोटा चाहिँ देख्न पाइन्छ । बुढा-पाका स्याहार नपाएर घरमै लडिरहेका छन । केटाकेटी मोबाइलका फोटा र भिडियोमा रुमलिएका छन । न त यहाँ खेल्ने बारि बाँकी छ । न त खेल्ने चाह नै । र फेरि लाग्छ, के यो हो त चितवन मैले घरजम गर्न खोजेको?
काठमाडौ ट्रली बस चल्ने समय देखि हालसम्म मेरो पढ्ने र कर्म गर्ने थलो बनेको छ । तर यो बिशौँ बर्षमा साएदै कमै दिन होलान काठमाडौमा मेरो मन जमेको । मलाई भिडभाड मन पर्दैन, मान्छेहरुको हुल मन पर्दैन । मलाइ मसिन र गाडिहरुको कोलाहल मन पर्दैन । मलाई यसो फुर्सदमा टोलाउन नपाउने दैनिकी मन पर्दैन । काठमाडौंमा त्यस्तो केही छैन जो मन परोस सिवाए आफ्नो काम । काठमाडौंको बयान म एउटा जिब्रो भएको प्रा‍णीले कसरी गरि सकुँला र ।
धेरै ठुलो, नौलो चाह हैन, सामान्य हो । यस्तो होस, बिहान भाले बासेसी निद्रा खुलोस । उठेर सुर्य नमन् गरेर जप-तप गरेसी पार तापेर बस्न पाइयोस । यसो खाना खाइ ओरि होम अफिस तिर अल्झिइयोस । अल्छी लागेर छत तिर निस्के हरियाली दृश्य देख्न पाइयोस् । अफिसको काम सकेसी निस्केर करेसाबारिमा बोट बिरुवासङ्ग खेल्न पाइयोस । भौं, भौं र क्वाँ, क्वाँ गरि भुक्ने र रुने कुकुरहरुको तान्डब सुनेर रातमा बिउझनु नपरोस् । यसो फुर्सद पाए गफमा रमिने दुई-चार छिमेकी हुन् । यत्ति हो चाह !
खएर, लेखेर, भनेर हुने हैन । बिवाह हुन र घर जग्गा जोडिन जुर्नु पर्छ रे अब कहिले जुर्ने हो त्यसैको पर्खाइमा छु । मेरा पाठक कोहि मलाई छिमेकी बनाउन मन छ भने कमेन्टमा लेख्नु होला ।
८ बज्यो अब उठ्ने मेसो गर्न पर्यो । आज शुक्रबार कामको लोड बढी नै छ । लौ त शुभ दिन ।

Category: writings
Tagged with:

Copy & Share

शङ्ख र स्याल
https://bhupalsapkota.com/shankha-and-syal/

1 comment

  • Nirmal says:

    मलाई हजुरकाे छिमेकमा घरजम गर्न मन छ हजुर !

  • Your thoughts? Please leave a comment

    Your email address will not be published. Required fields are marked *