Bhupal Sapkota Computer Programmer Unraveling art, science, and commerce behind technology. Passionate about teaching web/mobile programming, writing, and growing an online business.

My Private Mailing List

If you want early access and opportunities that I don’t post publicly, get on my private email list.

Home

सिलिकन भ्यालीको भूत

बिक्रम सम्बत २०८० सुरु हुदै गर्दा मैले आफ्नो अमेरिका बसाईको अनुभब समेटेर ब्लग लेख्छु भनेर एउटा रिजोलुसन लेखेको थिएँ । तर मलाई केहि कुरा सुरु गर्न त्यो कुरा किन गर्न लागेको हो भन्ने प्रश्नको उत्तर मिलेन भने सो काम गर्नै मन लाग्दैन । यो मेरो सानै देखिको बानि थियो । यो ब्लग पोस्टमा सो बारेमा किन लेख्ने त भन्ने कुरा लेखेर सिलिकन भ्याली ब्लग सिरिज को सुरुवात गर्दै छु ।

आठ कक्षामा पढ्दा एउटा सानो डाईरी बनाएर साथीहरुलाई भूपाल भविष्यमा के बन्छ होला भनेर लेख्नु भन्न लगाएको थिएँ । कक्षाका १००% साथीहरुले तिमि कम्प्युटर इन्जिनियर बन्छौ भनेर लेखेका थिए । आफुले कम्प्युटर सिक्दा खेरि देखि मेरो मनमा जिज्ञासा थियो यो DOS Operating System कसले बनायो होला, यो Windows कसले बनायो होला, अनि काहाँ बन्यो होला । यस्तो आईडिया कसरि आयो होला । अनि आफुले चलाउने, सिक्ने विभिन्न सफ्टवेयर बारेमा अनेक अनेक यस्तै प्रश्नहरु मनमा आईरहन्थे । खोज्दै जाँदा थाहा भयो धेरै जसो हामीले चलाउने प्रबिधिहरु अमेरिकाको क्यालिफोर्नियामा रहेको सिलिकन भ्याली भन्ने ठाउँका इन्जीनियरहरुले बनाएका रहेछन । हिन्दु धर्म मान्ने हरु काशी जानु पर्छ भने जस्तो म कम्प्युटर पेसामा लागेको मान्छे  मलाई जिन्दगीमा एकपल्ट सिलिकन भ्याली को दर्शन गरेर आउन मन थियो । त्यहाँ खुट्टा टेकेर सास लिन मन थियो । त्यहाका विभिन्न कम्पनिहरुका अफिस पुगेर कसरि काम हुदों रहेछ हेर्न मन थियो । त्यहाँका इन्जीनियरहरुहरु लगाएत सामान्य  गुजारा गर्ने मान्छेहरुको जीवन शैली बुज्न मन थियो । सिलिकन भ्याली एउटा परिकार भए मलाई त्यसको स्वाद चाख्न मन थियो । ठेट नेपालीमा भन्नु पर्दा मलाई सानै देखि सिलिकन भ्यालीको भूत चढेको थियो ।

स्कुल सकियो, कलेज सकियो, जागिर गरियो, आफ्नै आइटी बिजनेस गरियो यावत कुराहरु भईरहँदा मलाई गूगल कम्पनि सँग सहकार्य गरेर नेपालमा गूगल डेभ्लपर कम्युनिटिमा काम गर्ने मौका मिल्यो र हरेक बर्ष हुने गूगल आई.यो, कन्फरेन्समा जाने मौका मिल्यो । सन् २०१२, २०१३, २०१४, २०१५ का गूगलको तिन दिने गूगल आई.यो प्रोग्राममा सहभागी हुदै गर्दा कहिले १ हप्ता, कहिले १ महिना र कहिले ३ महिनाम सिलिकन भ्याली र सान फ्रान्सिस्को बे एरियामा घुमफिर गर्न पाएँ ।

२०१५ को नेपालको भूकम्प पश्चात म गूगल को प्रोग्राममा गएको केहि समय पछी अमेरिकी सरकारले अमेरिकामा बस्ने नेपालीहरुलाई लक्षित गरेर TPS कार्यक्रम पारित गर्यो जसले निश्चित दाएरा पुरा भएमा त्यो बेला अमेरिकामा हुने नेपालीले अमेरिकामा कानुनी रुपमा  बस्न र काम गर्न अनुमति पाउने भए । बुझ्दै जाँदा सो प्रोग्राममा म पनि सहभागी हुन सक्ने देखें र म त्यसपछिका ३ वर्ष अमेरिका बसें, त्यहांका स्टार्टअपका काम र बर्क्ली एरियाको एउटा कम्पनिमा जागिर पनि गरें ।

अब किन लेख्ने भन्ने प्रश्नको उत्तरमा आउँ । मलाई चढेको यो सिलिकन भ्यालीको त्यो भूत अझै उत्रेको छैन । र मलाई त्यो उतार्नु छ । र मेरो बे एरिया बसाईका अनुभवहरु बारे लेख लेख्नु मेरो लागी एकदम नेचुरल अभिव्यक्ति हुन सक्छ । मलाई लेख्न मन पर्छ । अनि आफुले सिकेका, सुनेका, गरेका, बुझेका कुरा अरुलाई भन्न मन पर्छ । अनि केहि मेरा नजिकका साथीहरुले मलाई आफ्नो अमेरिका बसाईबारेमा लेख्दा हुन्छ नि भनेर सल्लाह नि दिएका थिए । म सामान्य तय समयले जे माग्छ त्यहि गर्नुपर्छ भन्ने सोचको मान्छे ! र त्यसैले यो जमर्को गर्दै छु । बिक्रम सम्बत २०८० सालको अन्त्य सम्ममा थरि थरिका बिषय समेटेर आफ्नो अमेरिका बसाई बारे यहि मेरो व्यक्तिगत वेबसाइटमा हाल्ने छु ।

अनि यी लेखहरु नेपालीमा किन भन्ने जिज्ञासा मेरा पाठकहरुमा हुन सक्छ । मलाई नेपाली लेख्न मन पर्छ । आफ्नो भाषा सहज लाग्छ । अनि अंग्रेजीमा त अमेरिकाका बारेमा हजारौं लेखहरु भेटिएलान नेपालीमा लेख्दा मेरा नेपाली पाठकहरु लाई सहज होला भन्ने ध्यय हो !

इति श्री !

-बैशाख २०८०

 

 

Category: Semicolon Valley
Tagged with:

Copy & Share

सिलिकन भ्यालीको भूत
https://bhupalsapkota.com/siliconvalley-ko-bhoot/

Your thoughts? Please leave a comment

Your email address will not be published. Required fields are marked *